काठमाडौँ महानगरपालिका ले सहकारी ऐन अन्तर्गतका कसुर नगर्न/नगराउन भन्दै अत्यन्त जरुरी सूचना जारी गरेको छ। महानगरपालिकाको क्षेत्राधिकार भित्र सञ्चालनमा रहेका केही सहकारी संस्थाहरूले काठमाडौँ महानगरपालिका सहकारी ऐन तथा सो अन्तर्गत बनेका नियम, विनियम विपरीतका गतिविधि गरेको पाइएपछि यस्तो चेतावनी जारी गरिएको हो।
महानगरपालिकाले दर्ता नगरी वा खारेज भएको संस्था सञ्चालन गर्ने, आफ्नो नाममा “सहकारी” शब्द प्रयोग गरी कारोबार गर्ने, सदस्यको बचत रकम दुरुपयोग गर्ने, जमानतबिना ऋण प्रवाह गर्ने, संस्थाको सम्पत्ति हिनामिना गर्ने, झुट्टा विवरण पेश गरी ऋण लिने वा दिने, कमजोर धितो राखी ऋण प्रवाह गर्ने, कृत्रिम व्यवसाय खडा गरी कर्जा लिने वा दिने, गलत मूल्याङ्कन गरी धितो राख्ने लगायतका कार्यलाई कानुनतः कसुर मानिने जनाएको छ।
यस्तै, समितिका सदस्य, व्यवस्थापक वा कर्मचारीले मिलेमतोमा सेयर तथा बचत रकम आफूखुसी परिचालन गरी संस्थालाई हानि पुर्याउने, कागजात फेरबदल गर्ने, झुट्टा विवरण तयार गर्ने, जालसाजी गर्ने, गलत लेखापरीक्षण प्रतिवेदन तयार गर्ने तथा अवैध लाभ लिन/दिनेजस्ता कार्यसमेत कसुरको दायरामा पर्ने महानगरपालिकाले स्पष्ट पारेको छ।
महानगरपालिकाले यस्ता गतिविधिमा संलग्न सहकारी संस्था तथा सम्बन्धित व्यक्तिलाई काठमाडौँ महानगरपालिका सहकारी ऐनको दफा ७९ बमोजिम कानुन अनुसार कारबाही तथा सजाय हुने चेतावनी दिएको छ। साथै सबै सहकारी संस्थालाई ऐन, नियम तथा विनियमको पूर्ण पालना गर्न निर्देशन समेत दिएको छ।


प्रकाशित २०८३/०१/०५ सनिबार ९;५१ बिहान


