काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले प्रेस विज्ञप्ति जारी गर्दै श्रम सम्झौता नगरी कर्मचारीलाई काममा लगाउने तथा कानुनले तोकेको भन्दा बढी समय काम गराउने रोजगारदातामाथि कारबाही हुने चेतावनी दिएको छ।
मन्त्रालयले श्रम ऐन, २०७४ अनुसार रोजगारदाता र श्रमिकबीच रोजगारीको सेवा, शर्त तथा सुविधासम्बन्धी रोजगार सम्झौता अनिवार्य रहेको स्पष्ट पारेको छ। ऐनअनुसार रोजगार सम्झौता नगरी कसैलाई काममा लगाउन नहुने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै प्रशिक्षार्थीलाई दैनिक ८ घण्टा र साप्ताहिक ४८ घण्टाभन्दा बढी काममा लगाउन नहुने, नियमित कर्मचारीलाई पनि प्रतिदिन ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा लगाउन नपाइने उल्लेख गरिएको छ। साथै अतिरिक्त समय काम गराउनुपरेमा प्रतिदिन ४ घण्टा र हप्तामा २४ घण्टाभन्दा बढी हुन नहुने कानुनी व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ।
मन्त्रालयका अनुसार केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ लगायत कर्मचारीहरू तथा अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिहरूलाई श्रम सम्झौता नगरी काममा लगाइएको र कानुनले तोकेकोभन्दा बढी समय काम गराइएको भन्दै उजुरी तथा गुनासो प्राप्त भएका छन्।
यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्पूर्ण रोजगारदाता र श्रमिकलाई प्रचलित कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ। मन्त्रालयले कानुनविपरीत कार्य गरेको पाइएमा श्रम ऐन, २०७४ बमोजिम कारबाही गरिने जनाएको छ।


यस्तो छ श्रम ऐन, २०७४ को पूर्ण पाठ
प्रकाशित २०८३/०१/०५ सनिबार ९;२५ बिहान


