काठमाडौं, वैशाख ७। जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उहाँलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न सरकारसँग माग गरेको छ।
संस्थाका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा पदमै बसेर छानबिन गर्नु सम्भव नभएको उल्लेख गर्दै यसले न्याय प्रक्रियामाथि गम्भीर प्रश्न उठाउने बताइएको छ। वक्तव्यमा मन्त्री पदको ओहदामा रहेर आफ्नैविरुद्ध छानबिन हुन नसक्ने भन्दै यसलाई आधारभूत नैतिकता र कानुनी सिद्धान्तविरुद्धको कार्य भनिएको छ।
वक्तव्यमा वालेन शाह नेतृत्वको सरकारलाई क्याबिनेटमा कसलाई लैजाने भन्ने निर्णय गम्भीर राजनीतिक तथा नैतिक विषय भएको स्मरण गराउँदै हचुवाको भरमा मन्त्री नियुक्त गर्ने र फेरि हटाउने प्रवृत्ति अस्वीकार्य रहेको उल्लेख गरिएको छ। साथै जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउनुपर्नेमा जोड दिइएको छ।
जेनजी मुभमेन्टले वर्तमान सरकार ७६ जना शहीदहरूको रक्तबलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व भएको दाबी गर्दै जनताको त्याग र बलिदानमाथि सस्तो राजनीति गर्न नहुने जनाएको छ। सुशासन, पारदर्शिता र जवाफदेहिताको मामिलामा कुनै सम्झौता वा ढिलासुस्ती स्वीकार्य नहुने वक्तव्यमा उल्लेख छ।
संस्थाले न्याय प्रक्रिया स्वतन्त्र, निष्पक्ष र दबाबमुक्त हुनुपर्ने भन्दै दोषी जोसुकै भए पनि कानुनको कठघरामा उभिनुपर्ने माग दोहोर्याएको छ।

प्रकाशित २०८३/०१/०७ सोमबार ७;४३ बिहान


