काठमाडौं । काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि गरिएको २४ घण्टे विशेष निगरानी तथा कारबाही अभियान अन्तर्गत आइतबार मात्रै २,२०४ जना चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट कुल १० लाख २२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ८६ जना, राइड सेयरिङ सम्बन्धी नियम उल्लंघन गर्ने १८२ जना, रातो बत्ती उल्लंघन गर्ने १३० जना, तीव्र गति चलाउने १५७ जना, लेन अनुशासन तोड्ने २०४ जना, सडक तथा फुटपाथ अतिक्रमण गर्ने १२३ जना, नो–हर्न नियम उल्लंघन गर्ने ३५ जना, पिकअप तथा ड्रप जोन अव्यवस्थित रूपमा प्रयोग गर्ने ५२ जना चालक कारबाहीमा परेका हुन्।
त्यसैगरी अन्य विभिन्न ट्राफिक कसुरमा १,२३५ जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण, सडक अनुशासन कायम तथा यात्रु सुरक्षालाई प्राथमिकता दिँदै नियमित रूपमा यस्ता अनुगमन र कारबाही अभियान सञ्चालन भइरहेको जनाएको छ।
प्रहरीले सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, सुरक्षित यात्रा सुनिश्चित गर्न तथा सभ्य सडक संस्कृतिमा सहयोग पुर्याउन आग्रह गरेको छ।
प्रकाशित २०८३/०१/१४ सोमबार ९:१८ बिहान


