काठमाडौं । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंको सिनामंगल सडक खण्डमा गरिएको प्रदूषण चेकिङका क्रममा ३७ वटा सवारी साधन चेक गर्दा १६ वटा सवारी साधन मापदण्डभन्दा बढी धुवाँ फाल्ने अवस्थामा फेला परेका छन् ।
ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार हिजो (मिति २०८३।०१।२८) वातावरण व्यवस्थापन विभाग, काठमाण्डौ महानगरपालिका र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले सञ्चालन गरेको चेकिङका क्रममा प्रदूषण मापदण्ड उल्लंघन गर्ने १६ वटा सवारी साधनलाई कारबाही गरिएको हो ।
प्रदूषण मापदण्ड उल्लंघन गर्ने सवारी साधनले वायु प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने र दुर्घटनाको जोखिम समेत बढाउने भएकाले यस्ता सवारी साधनको नियमित अनुगमन तथा चेकजाँचलाई थप प्रभावकारी बनाइने ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले सबै सवारी चालकलाई आफ्नो सवारी साधन दुरुस्त अवस्थामा राखी मापदण्ड अनुसार मात्र सञ्चालन गर्न अनुरोध समेत गरेको छ ।
प्रकाशित २०८३/०१/२९ मंगलबार १०;४६ बिहान


