काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो आइतबार मात्रै उपत्यका भित्र सञ्चालन गरिएको विभिन्न ट्राफिक निगरानी तथा कारबाही अभियानबाट ११ लाख ६८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।
ट्राफिक प्रहरीका अनुसार २४ घण्टाको अवधिमा विभिन्न नियम उल्लंघन गर्ने २ हजार १ सय ८८ सवारी चालक कारबाहीमा परेका हुन्।
कारबाहीमा पर्ने सवारी चालकहरूमध्ये मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ९९ जना, राइड सेयरिङ सम्बन्धी उल्लंघन गर्ने १७८ जना, रेड लाइट उल्लंघन गर्ने २११ जना, तीव्र गतिमा सवारी चलाउने ११७ जना, लेन अनुशासन उल्लंघन गर्ने ३४ जना, सडक तथा फुटपाथ अतिक्रमण गर्ने ९८ जना, नो हर्न क्षेत्र उल्लंघन गर्ने १३६ जना, वान वे नियम तोड्ने ९५ जना तथा अन्य विभिन्न शीर्षकमा १ हजार २ सय २० जना चालकलाई कारबाही गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले उपत्यकामा सवारी व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र अनुशासित बनाउन नियमित रूपमा अनुगमन तथा कारबाहीलाई तीव्र बनाइएको जनाएको छ। साथै, ट्राफिक नियम पालना गर्न र सुरक्षित यात्राका लागि सबै चालकलाई सचेत रहन आग्रह गरेको छ।
प्रकाशित २०८३/०१/२८ सोमबार ७:५९ बिहान


