संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन्। प्रतिनिधिसभाको दोस्रो अधिवेशन अन्तर्गत बैठक संख्या–४ आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ।
संसदको दैनिक कार्यसूची अनुसार प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेल ले वैशाख २८ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
यस्तै, नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तावहरू पनि आजको बैठकमा प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ। संशोधन प्रस्तावमाथि प्रतिनिधिसभामा विस्तृत छलफल समेत हुने जनाइएको छ।
त्यसैगरी, नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको प्रधानमन्त्री शाहले जवाफ दिनेछन् भने प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने र अन्ततः वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ सभासमक्ष पेश गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रकाशित :- २०८३/०१/३ बुधबार ८:४० बिहान


