काठमाडौं । उपसभामुख रुबि कुमारी ठाकुर ले प्रधानन्यायाधीश नियुक्ति कार्यक्षमता र योग्यताको मूल्यांकनका आधारमा गरिएको बताएकी छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले न्याय प्रणालीबारे लामो समयदेखि जनताबाट गुनासो आइरहेको उल्लेख गरिन्। “हाम्रो मुद्दा यति वर्ष लगाइयो, उति वर्ष लगाइयो” भन्ने जनगुनासो न्याय प्रणालीका लागि गम्भीर विषय भएको उनको भनाइ छ।
उनले नियुक्ति प्रक्रिया दल वा पार्टीको आधारमा हुने हो भने त्यसको नतिजा पनि नकारात्मक देखिने बताउँदै प्रधानन्यायाधीश नियुक्तिमा कार्यक्षमता र योग्यतालाई प्राथमिकता दिइएको स्पष्ट पारेकी छन्।
उपसभामुख ठाकुरले राज्यका हरेक अंग देश, जनता र राज्यको हितका लागि सञ्चालन हुनुपर्ने उल्लेख गर्दै कसैको आदेश वा उपदेशभन्दा संविधान, कानुन र जनहितलाई सर्वोपरि राख्नुपर्ने धारणा व्यक्त गरिन्।
उनले निष्पक्ष, सक्षम र जिम्मेवार न्याय प्रणाली नै लोकतन्त्रको वास्तविक आधार भएको बताउँदै साथ, सहयोग र समर्थनका लागि सबैप्रति धन्यवाद व्यक्त गरेकी छन्।
प्रकाशित :- २०८३/०१/२६ सनिबार बेलुका


