ललितपुर ।
अहिले वैशाखको समयमा काठमाडौँ उपत्यकाका सडकहरू ‘ज्याकारान्डा’ अर्थात् निलो शिरिषले ढकमक्क बनेका छन्। विशेष गरी ललितपुरको सातदोबाटो-एकान्तकुना चक्रपथ अन्तर्गत पर्ने ताल्छीखेल र थसिखेल क्षेत्रका सडक किनारमा फुलेका यी बैजनी फूलहरूले बटुवा र सवारी चालक दुवैको ध्यान खिचेका छन्।
सडकको दुवै किनारमा बैजनी रङका फूलहरूले ढाकेपछि यस क्षेत्रमा फोटो खिच्ने र भिडियो बनाउनेहरूको संख्या ह्वात्तै बढेको छ। कार्यालय जाने कर्मचारीदेखि कलेजका विद्यार्थी र सर्वसाधारणहरू समेत एकछिन रोकिएर मोबाइलमा यो दृश्य कैद गर्न तल्लिन देखिन्छन्। सामाजिक सञ्जालका लागि सामग्री बनाउनेहरूका कारण यो सडक खण्ड अहिले निकै आकर्षक देखिएको छ।
सडक प्रयोग गर्ने मानिसहरू आफ्नै धुनमा हिँडिरहेका भए पनि ढकमक्क फुलेको फूल देख्दा आफ्नो पाइला रोक्न बाध्य हुन्छन्। “सधैँ धुलो र धूवाँ देखिने सडकमा यसरी फूल फुलेको देख्दा मनै फुरुङ्ग हुन्छ,” एक स्थानीय बटुवाले बताए। सवारी साधनमा यात्रा गर्नेहरू पनि झ्यालबाट यो दृश्य हेर्दै र तस्विर खिच्दै आनन्द लिइरहेका भेटिन्छन्।
निलो शिरिषको यो बैजनी चमकले सहरको सुन्दरता मात्र बढाएको छैन, व्यस्तताका बीच मानिसहरूलाई केही बेर भए पनि प्रफुल्लित बनाएको छ।
तस्बिरहरु







तस्बिर :- भवनाथ चौलागाई /ईभा मिडिया
प्रकाशित २०८३/०१/२६ सनिबार ३:१३ दिउँसो


