काठमाडौं । पछिल्लो समय राईड सेयरिङ सेवामा आबद्ध केही चालकहरूले कम भाडा निर्धारण भएको, श्रम शोषण भएको लगायतका गुनासा सार्वजनिक गर्दै यात्रुहरूको विवरण, फोटो तथा एपमा देखिने जानकारी सहितका स्क्रिनसट सामाजिक सञ्जालमा पोस्ट गर्ने क्रम बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले गम्भीर ध्यानाकर्षण जनाएको छ। प्रहरीका अनुसार यस्ता पोस्टहरूले यात्रुको गोपनीयताको अधिकार उल्लंघन गर्ने भएकाले तत्काल त्यस्ता गतिविधि रोक्न चालकहरूलाई आग्रह गरिएको छ।
प्रहरीले जारी गरेको सूचनामा राईड सेयरिङ प्रयोगकर्ताको व्यक्तिगत विवरण, तस्बिर, लोकेसन तथा अन्य निजी जानकारी सार्वजनिक गर्नु विद्यमान कानुनविपरीत हुन सक्ने उल्लेख गरिएको छ। सामाजिक सञ्जालमा कसैको अनुमति बिना व्यक्तिगत विवरण सार्वजनिक गर्दा गोपनीयता सम्बन्धी कानुन आकर्षित हुने भन्दै प्रहरीले यस विषयलाई संवेदनशील रूपमा लिन आग्रह गरेको छ।
हाल केही चालकहरूले विदेशी राईड सेयरिङ एपमार्फत अत्यन्त न्यून भाडा निर्धारण गरिएको, चालकमाथि श्रम शोषण भएको तथा सेवा सञ्चालनमा असमान व्यवहार भएको आरोप लगाउँदै यात्रुको विवरण सहितका स्क्रिनसट सार्वजनिक गर्दै आएका थिए। चालकहरूको गुनासो सम्बोधन गर्न सम्बन्धित कम्पनी तथा सरोकारवाला निकायसँग संवाद गर्नुपर्ने भए पनि यात्रुको व्यक्तिगत जानकारी सार्वजनिक गर्नु उचित नहुने प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अब उपरान्त यस्ता गतिविधि दोहोरिएमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ। साथै, आफ्ना समस्या समाधानका लागि कानुनी र संस्थागत माध्यम अपनाउन तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न राईड सेयरिङ चालकहरूलाई प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित २०८३/०१/२६ सनिबार १०:२९ बिहान


