काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को संवत् २०८३ साल वैशाख २५ गते बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले सम्माननीय राष्ट्रपतिसमक्ष संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई वैशाख २८ गते सोमबार अपराह्न ४ बजे सम्बोधन गर्न तथा त्यसका लागि संघीय संसदका माननीय सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने निर्णय गरेको छ।
यस्तै, परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना नेपाली अनररी कन्सल जनरल तथा कन्सललाई पदमुक्त गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्ताव अनुसार अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल नं. २९ अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गरिएको छ।
साथै, श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि, १९४७ नं. ८१ अनुमोदनका लागि पनि संघीय संसद समक्ष पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

प्रकाशित २०८३/०१/२५ शुक्रबार १:१० दिउँसो


