काठमाडौं — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ।
आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता, मौलिक अपेक्षा तथा विकासका प्राथमिकतालाई समेट्ने उद्देश्यले उक्त डिजिटल प्लेटफर्म सुरु गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
यस पोर्टलमार्फत देश तथा विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ तथा नीति निर्माताहरूले बजेट निर्माण, विकास प्राथमिकता र सरकारी योजनाका विषयमा आफ्ना महत्वपूर्ण सुझावहरू सिधै सरकारसमक्ष पेश गर्न सक्नेछन्।
प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेराभित्र मात्र सीमित नराखी आम नागरिकको भावना, आवश्यकता र विज्ञताको सम्मान गर्ने प्रधानमन्त्रीको योजनाअनुसार यो पहल अघि बढाइएको हो।
उनले यो पोर्टलले नागरिक र राज्यबीचको दूरी घटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने विश्वास व्यक्त गर्दै प्राप्त सुझावहरूलाई प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमा कार्यान्वयन गरिने बताएकी छन्।
पोर्टलमा नागरिकले दिएका सुझावहरूको अवस्था तथा त्यसमा सरकारले चालेका कदमबारे जानकारी लिन सकिने गरी ‘सुझाव ट्र्याक’ गर्ने विशेष सुविधा समेत समावेश गरिएको छ।
सरकारले यस डिजिटल पहलमा सक्रिय सहभागिता जनाउन सम्पूर्ण नेपाली नागरिकलाई आग्रह गरेको छ।
सुझाव पठाउन यहाँ क्लिक गर्नुहोस्: यो लिंकमा क्लिक गर्नुहोस्
प्रकाशित :- २०८३/०१/२६ सनिबार ८:५२ बेलुका


