काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन नियन्त्रण अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा २,२१२ जना सवारी चालक कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीका अनुसार सोमबार मात्रै विभिन्न ट्राफिक उल्लंघनमा परेका चालकहरूबाट २७ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।

ट्राफिक प्रहरीको विवरण अनुसार मादक पदार्थ सेवन (मापसे) मा ८३ जना, राइड सेयरिङ नियम उल्लंघनमा १७९ जना, रेड लाइट क्रस गर्ने १३१ जना, तीव्र गतिमा सवारी चलाउने १३९ जना कारबाहीमा परेका छन्। त्यसैगरी लेन अनुशासन उल्लंघन गर्ने ९२ जना, फुटपाथ तथा सडक प्रयोग गर्ने १०७ जना, नो हर्न नियम उल्लंघन गर्ने १२४ जना र एकतर्फी (one way) नियम तोड्ने १५० जना चालक पनि कारबाहीमा परेका छन्।
त्यस्तै अन्य विभिन्न ट्राफिक नियम उल्लंघनमा १२०७ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। कुल २,२१२ सवारी साधनका चालकहरू कारबाहीमा परेका हुन्।

ट्राफिक प्रहरीले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि नियम पालनामा कडाइ गरिएको बताउँदै आगामी दिनमा पनि नियमित चेकिङ र कारबाही अभियान जारी रहने जनाएको छ।
प्रकाशित २०८३/०१/२९ मंगलबार १०:२३ बिहान


