
नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै सबै रेकर्ड तोड्दै एकैदिन भारी वृद्धि गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ हजार २०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस वृद्धिसँगै नेपाली बजारमा सुनको मूल्य इतिहासमै पहिलो पटक ३ लाख रुपैयाँको मनोवैज्ञानिक सीमा पार गर्दै ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव तथा अमेरिकी डलरको मजबुतीका कारण स्थानीय बजारमा यसको प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन्।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। आज चाँदी प्रतितोला ३२० रुपैयाँले बढेर ६ हजार १ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
लगातार बढिरहेको सुनको मूल्यले विशेषगरी विवाहको सिजनमा सुन खरिद गर्ने उपभोक्ताहरू मर्कामा परेका छन्। मूल्यवृद्धिका कारण गहना खरिदमा कमी आउने र बजारको कारोबार प्रभावित हुने व्यवसायीहरूको भनाइ छ।

प्रकाशित २०८२/१०/०९ ११:२३


