सडकमा सवारी साधन बिग्रिँदा अब ग्यारेजसम्म तान्नुपर्ने झन्झट अन्त्य हुने भएको छ। ‘सीपलाई समाधानसँग जोड्ने’ उत्कृष्ट नारासहित “मोबाइल ग्यारेज एप” उपत्यकामा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
गत शनिबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममार्फत उक्त एपको शुभारम्भ गरिएको हो। अब यात्राकै क्रममा सवारी साधनमा समस्या आएमा मोबाइल एपमार्फत नजिकैको दक्ष मेकानिक बोलाउन सकिने व्यवस्था गरिएको छ।
एप सञ्चालनमा आएसँगै सवारी बिग्रिएपछि ग्यारेज खोज्दै भौँतारिनु पर्ने, टोइङ गर्नुपर्ने तथा समय र खर्च दुवै बढ्ने समस्याको समाधान हुने अपेक्षा गरिएको छ। एप प्रयोगकर्ताले आफ्नो लोकेसन, सवारीको समस्या र आवश्यक सेवाको विवरण एपमा प्रविष्ट गरेपछि सम्बन्धित मेकानिक सिधै घटनास्थलमा पुग्नेछन्।
सवारीधनीलाई सहज सेवा उपलब्ध गराउनुका साथै दक्ष मेकानिकहरूलाई रोजगारी र सीप प्रयोग गर्ने अवसर पनि प्रदान गर्नेछ। आधुनिक प्रविधिमार्फत यातायात क्षेत्रमा देखिँदै आएका व्यवहारिक समस्याको समाधान गर्न यो एप प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।
प्रकाशित २०८२/१०/०९ १२:०८


