राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आगामी निर्वाचनमा उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ। वाग्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक रूपमा यस्तो आग्रह गर्नुभएको हो।
आफ्नो सन्देशमा वाग्लेले राजनीतिक–सामाजिक सशक्तिकरणका लागि पुराना दलहरूले व्यवस्था परिवर्तन मार्फत हासिल गरेका उपलब्धिहरूको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै २१औँ शताब्दीमा आर्थिक समुन्नतिको बाटो भने नयाँ र वैकल्पिक राजनीतिक दल तथा अभियानहरूबाट मात्र सम्भव हुने धारणा व्यक्त गर्नुभएको छ। यही निष्कर्षका आधारमा डा. भट्टराईले ‘नयाँ शक्ति’ को अवधारणा अघि सारेको स्मरण गराउँदै आजको वैकल्पिक राजनीतिक जगमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय, विस्तार र उचाइ सम्भव भएको बताउनु भएको छ।
पूर्वप्रधानमन्त्रीका रूपमा डा. भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मार्गनिर्देशन गर्ने वरिष्ठ अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने विश्वास वाग्लेले व्यक्त गर्नुभएको छ। फागुन २१ पछि रास्वपाको नेतृत्व वा सहभागितामा बन्न सक्ने संघीय सरकारको राजनीतिक–प्रशासनिक, सुशासन र विकाससँग सम्बन्धित संक्रमणकालीन व्यवस्थापनमा डा. भट्टराईको अनुभव अत्यन्त उपयोगी हुने उल्लेख गरिएको छ।
त्यसैले आसन्न फागुन २१ गते हुने निर्वाचनमा गोरखा क्षेत्र नं. २ बाट उम्मेदवार रहनुभएका डा. बाबुराम भट्टराईलाई उम्मेदवारी फिर्ता लिई आगामी दिनमा राज्य सञ्चालनका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सघाउन स्वर्णिम वाग्लेले विनम्र अनुरोध गर्नुभएको छ। उहाँले यसलाई अनुकरणीय देशभक्तिपूर्ण उदाहरणको रूपमा समेत उल्लेख गर्नुभएको छ।
प्रकाशित २०८२/१०/०९ १:३०


