नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ। गत साता सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि आज पहिलो पटक पार्टी मुख्यालय पुग्नुभएका थापाको समर्थकहरूले भव्य स्वागत गरेका थिए।
पदभार ग्रहणसँगै आजै बस्ने केन्द्रीय कार्यसमितिको पहिलो बैठकले थापालाई आगामी आम निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको बताइएको छ। पार्टी नेतृत्व परिवर्तनसँगै कांग्रेसले आगामी निर्वाचनका लागि नयाँ रणनीति तय गर्ने संकेत पनि देखिएको छ।
यसअघि निर्वाचन आयोगले गगन थापा नेतृत्वको पक्षलाई आधिकारिक नेपाली कांग्रेसको मान्यता दिएको थियो। सो मान्यतापछि सानेपास्थित केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्ने प्रक्रिया सहज बनेको हो। आयोगको निर्णयलाई पार्टीभित्र देखिएको आन्तरिक विवाद र विभाजनको औपचारिक अन्त्यतर्फको कदमका रूपमा हेरिएको छ।
सभापति थापासँगै उपसभापति विश्वप्रकाश शर्मा तथा अन्य नवनिर्वाचित पदाधिकारीहरूले पनि आजैबाट आफ्नो कार्यभार सम्हालेका छन्। नयाँ कार्यसमितिले संगठन सुदृढीकरण, आन्तरिक एकता र नीतिगत सुधारलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
निर्वाचन रणनीतिअन्तर्गत सभापति थापाले यसपटकको आम निर्वाचनमा आफ्नो पुरानो क्षेत्र काठमाडौं–४ छोडेर सर्लाही–४ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ। यस निर्णयलाई पार्टी विस्तार र नयाँ मतदाता आधार निर्माणको प्रयासका रूपमा विश्लेषण गरिएको छ।
प्रकाशित २०८२/१०/०९ २:५०


