गण्डकी प्रदेश सरकारले केही महिना अघि जारी गरेको राइड सेयरिङ नियमावली संशोधन गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। संशोधित नियमावली अनुसार अब निजी सवारी साधनमध्ये दुई पाङ्ग्रेले मात्र राइड सेयरिङ सेवा सञ्चालन गर्न पाउने छन् भने चार पाङ्ग्रे सवारीमा भने ट्याक्सीले मात्र राइड सेयरिङ सेवा दिन पाउने व्यवस्था गरिएको छ।
लामो समयसम्म सरोकारवाला पक्षहरूसँग भएको छलफलपछि प्रदेश सरकारले निजी नम्बर प्लेटका चार पाङ्ग्रे सवारी प्रयोग गरी राइड सेयरिङ सेवा सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। अबदेखि कालो नम्बर प्लेटका ट्याक्सी सवारी साधनले मात्र चार पाङ्ग्रे राइड सेयरिङ सेवा सञ्चालन गर्न पाउने छन्।
प्रदेश सरकारको यो निर्णयलाई ट्याक्सी व्यवसायीहरूको हितमा लिइएको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। यसले अनियन्त्रित प्रतिस्पर्धा रोक्ने र ट्याक्सी व्यवसायलाई संरक्षण गर्ने अपेक्षा गरिएको छ।
अखिल नेपाल यातायात मजदुर संघ उपत्यका ट्याक्सी बिशेष समितिका अध्यक्ष प्रकाश अधिकारिका अनुसार संशोधित राइड सेयरिङ नियमावली आजै प्रदेश राजपत्रमा प्रकाशित हुन सक्ने जानकारी दिइएको छ। राजपत्रमा प्रकाशित भएसँगै नियमावली औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।
प्रकाशित २०८२/१०/११ ११:१६


