नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनको सन्दर्भमा प्रमुख दलका नेताहरू बीच सार्वजनिक पब्लिक डिबेटको आवश्यकता औँल्याउँदै त्यसका लागि आफू तयार रहेको स्पष्ट गर्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले देश बनाउने र देश जलाउने पक्षबीचको प्रतिस्पर्धामा एमाले देश निर्माणको पक्षबाट चुनावी मैदानमा रहेको उल्लेख गर्नुभएको छ। उहाँले हाल नयाँ र पुराना सबै दलहरू चुनावमा होमिएको अवस्थामा सार्वजनिक बौद्धिक वृत्तबाट पारदर्शी बहसको माग उठ्नु सकारात्मक भएको बताउनुभयो।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमा फ्रेमिङ गरेर बनाइएका प्रचार सामग्री मार्फत मतदातालाई भ्रममा पार्ने र वास्तविक चरित्र लुकाउने प्रवृत्ति बढ्दै गएको कारण पनि पब्लिक डिबेटको माग आएको हुन सक्ने संकेत गर्नुभएको छ।
उहाँका अनुसार यसपटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दलदेखि अघिल्लो चुनावपछि खुलेका तथा हालसालै गठन भएका नयाँ दलहरूसमेत प्रधानमन्त्रीको उम्मेदवार सार्वजनिक गरेर चुनावमा सहभागी भएका छन्। यस्तो अवस्थामा देशको नेतृत्व गर्न चाहने दलहरूले आफ्ना एजेन्डा, विगतमा गरेका काम र भविष्यका योजना स्पष्ट रूपमा जनतासामु राख्नुपर्ने आवश्यकता रहेको ओलीको भनाइ छ।
“देश निर्माणका लागि हामीले यसअघि के गर्यौं र अब कसरी अघि बढ्छौं भन्ने विषयमा आमनेसामने बहस गर्न म तयार छु,” अध्यक्ष ओलीले लेख्नुभएको छ, “प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत भएका सबै नेताहरूलाई सिधा प्रश्न सोध्न र आफ्ना एजेन्डा सार्वजनिक रूपमा राख्न तयार छु।”
अध्यक्ष ओलीले निष्पक्ष र खुला पब्लिक डिबेट आयोजना गरी सबै पक्षलाई एउटै मञ्चमा ल्याउन सम्बन्धित निकाय र सरोकारवालालाई आग्रहसमेत गर्नुभएको छ।
प्रकाशित २०८२/१०/११ १०:२६


