यहिँ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनजस्तो संवेदनशील लोकतान्त्रिक प्रक्रियामा बालबालिकाको प्रयोग भइरहेको विषयप्रति नेपाल जेन–जी फ्रन्टले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। फ्रन्टले जारी गरेको विज्ञप्तिमा यस्ता क्रियाकलाप राजनीतिक रूपमा अनैतिक हुनुका साथै नेपालको विद्यमान कानून अनुसार दण्डनीय अपराध समेत भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा बालबालिका सम्बन्धी ऐन तथा निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिताले राजनीतिक गतिविधि, चुनावी प्रचार–प्रसार तथा सार्वजनिक प्रचार सामग्रीमा बालबालिकाको अनुहार, नाम वा सहभागिताको प्रयोग स्पष्ट रूपमा निषेध गरेको स्मरण गराइएको छ। त्यस विपरीत भइरहेका गतिविधिहरू बाल अधिकारको गम्भीर उल्लङ्घन भएको फ्रन्टको ठहर छ।
नेपाल जेन–जी फ्रन्टले राजनीतिक लाभका लागि बालबालिकालाई अगाडि सार्नु लोकतान्त्रिक मूल्य र नैतिकताको ठाडो अपमान भएको जनाएको छ। विज्ञप्तिमा बालबालिका कुनै पनि राजनीतिक दल, कार्यकर्ता वा उम्मेदवारका प्रचारका औजार होइनन् र हुनु नहुने स्पष्ट धारणा व्यक्त गरिएको छ। बालबालिकालाई राजनीतिक प्रतिस्पर्धाको साधन बनाएर भविष्यप्रति गैरजिम्मेवार व्यवहार नगर्न सम्पूर्ण राजनीतिक दल तथा उम्मेदवारहरूलाई सचेत रहन आग्रह गरिएको छ।
फ्रन्टले सबै राजनीतिक दल, उम्मेदवार तथा कार्यकर्तालाई कानूनको सम्मान गर्दै आगामी निर्वाचन प्रक्रियाका कुनै पनि राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्न, निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र उच्चतम जिम्मेवारी तथा जवाफदेहिता प्रदर्शन गर्न आग्रह गर्दै सचेत गराएको छ।
प्रकाशित २०८२/१०/११ ५:५१


