भारतको ७७ औँ गणतन्त्र दिवसको अवसरमा आज काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा विशेष समारोह आयोजना गरिएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो।
समारोहका क्रममा राजदूत श्रीवास्तवले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा दिनुभएको सन्देश वाचन गर्नुभयो। सन्देशमा भारतको लोकतान्त्रिक यात्रा, आर्थिक प्रगति तथा छिमेकी राष्ट्रहरूसँगको मैत्रीपूर्ण सम्बन्धलाई विशेष रूपमा उल्लेख गरिएको थियो।
कार्यक्रममा भारतीय सशस्त्र बलमा सेवा पुर्याई अवकाश पाएका नेपाली गोर्खा सैनिकका परिवार, वीर नारी तथा शहीद परिवारलाई सम्मान गरिएको थियो। दूतावासले उनीहरूलाई आर्थिक सहयोग र कम्बल वितरण गर्दै सम्मान प्रकट गरेको हो।
यस अवसरमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीहरूले देशभक्तिपूर्ण गीत तथा नृत्य प्रस्तुत गरेका थिए, जसले समारोहलाई थप आकर्षक बनाएको थियो।
समारोहलाई सम्बोधन गर्दै राजदूत श्रीवास्तवले नेपाल–भारतबीच सदियौँदेखि रहँदै आएको घनिष्ठ र ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा दूतावासका कर्मचारी, नेपालस्थित भारतीय समुदायका प्रतिनिधि, व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै समारोहलाई छोटो तर भव्य रूपमा सम्पन्न गरिएको थियो।
भारतले सन् १९५० जनवरी २६ मा आफ्नो संविधान लागू गरेको स्मरणमा प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आएको छ।
प्रकाशित २०८२/१०/११ ६:५६


