नेकपा एमालेको केन्द्रीय पोलिटब्यूरो सदस्य तथा पूर्व सांसद शान्ता चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत देश निर्माणको विषयमा टिप्पणी गरेकी छन्। उनले लेखेकी छन्, “गाडी माथि बसेर हात हल्लाएर देश बन्दैन, देश बनाउने स्पष्ट भिजन एमालेसँग छ।”
चौधरीको यो अभिव्यक्ति हालको राजनीतिक गतिविधि र फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उमेद्वारहरु को शैलीप्रति लक्षित रहेको विश्लेषण गरिएको छ। यद्यपि, उनले आफ्नो स्टाटसमा कुनै पनि व्यक्ति वा दलको नाम भने उल्लेख गरेकी छैनन्। राजनीतिक वृत्तमा भने उनको यो टिप्पणी राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहतर्फ संकेत गरिएको हुन सक्ने अनुमान गरिएको छ।
शान्ता चौधरी नेपालकी चर्चित समाजसेवी तथा राजनीतिकर्मी हुन्। उनी नेपालको पहिलो संविधान सभाकी सदस्य समेत रहिसकेकी छन्। चौधरी नेकपा एमालेबाट समानुपातिक कोटा मार्फत सभासदमा निर्वाचित भएकी थिइन्। सामाजिक न्याय, अपाङ्गता अधिकार र समावेशी राजनीतिका विषयमा उनको सक्रिय भूमिका रहँदै आएको छ।
उनको पछिल्लो अभिव्यक्तिले सामाजिक सञ्जाल र राजनीतिक क्षेत्रमा चर्चा पाएको छ। समर्थकहरूले एमालेको विकास दृष्टिकोणको पक्षमा रहेको टिप्पणीको स्वागत गरिरहेका छन् भने आलोचकहरूले उक्त भनाइलाई लक्षित र व्यंग्यात्मक टिप्पणीका रूपमा लिएका छन्।
प्रकाशित २०८२/१०/२० ७:५०


