काठमाडौं । रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारसँग सम्बन्धित सवारी साधनको ठक्करबाट चार वर्षीया बालिकाको ज्यान गएको घटनाप्रति जेन–जी अगुवा रक्षाबमले तीव्र प्रतिक्रिया जनाउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले राजनीतिक दलका समर्थकहरूलाई आफ्नो नेताको बचाउमा आँखै चिम्लेर गलतको पक्षपोषण नगर्न आग्रह गर्नुभएको छ।
रक्षाबमले लेख्नु भएको छ, “सहीलाई सही र गलतलाई गलत भन्न सक्ने नैतिक साहस बिना राजनीति हुँदैन, बाँकी रहने भनेको केवल अन्धभक्ति मात्रै हो।” उहाँका अनुसार रौतहटमा भएको दुर्घटनामा गाडीको अघिल्लो भागले ठक्कर दिएपछि ढलेकी बालिकालाई पछाडिको पांग्राले समेत किचेको दृश्य सामाजिक सञ्जालमा देखिएको छ, जसले सबैलाई स्तब्ध बनाएको छ।
उहाँले हिजो एमाले मन्त्रीको गाडीले मान्छे ठोक्दा नेतृत्वबाट आएको गैरजिम्मेवार अभिव्यक्तिले समाज आक्रोशित बनेको स्मरण गराउँदै आज त्यही गल्ती रास्वपाका केही समर्थकहरूले दोहोर्याइरहेको टिप्पणी गर्नुभएको छ। गाडीमा उम्मेदवार स्वयं थिए वा थिएनन् भन्ने विषय अनुसन्धानको पाटो भए पनि अहिलेको मुख्य सवाल जिम्मेवारी र कानुनप्रतिको प्रतिबद्धता भएको उहाँको भनाइ छ।
रक्षाबमले स्पष्ट रूपमा भन्नुभएको छ, “तपाईंको मनपर्ने पार्टी होस् वा मनपर्ने नेता, अपराध भनेको अपराध नै हो। कसुर अनुसार कारबाही हुनै पर्छ।” साथै उहाँले सरकारलाई यस विषयलाई गम्भीर रूपमा लिएर कुनै पनि राजनीतिक खोल ओढेर दोषीलाई उन्मुक्ति नदिन आग्रह गर्नुभएको छ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टीले भने घटनाप्रति दुःख व्यक्त गर्दै विज्ञप्ति जारी गरिसकेको छ। पार्टीले बालिकाको निधनप्रति गहिरो शोक व्यक्त गर्नुका साथै पीडित परिवारलाई राहत उपलब्ध गराउने र घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कानुन अनुसार कारबाही गर्न प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
प्रकाशित २०८२/१०/२३ २:१८


