काठमाडौँ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा पूर्व काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपाली फुटबलको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हाल काठमाडौँमा सञ्चालन भइरहेको राष्ट्रिय लिग फुटबलमा दर्शकको उपस्थिति अत्यन्त न्यून रहेको उल्लेख गरेका छन्। उनका अनुसार राष्ट्रिय लिगजस्तो महत्वपूर्ण प्रतियोगितामा समेत २–३ सय दर्शक मात्र देखिनु दुःखद विषय हो। यसले धेरैलाई “नेपालमा अब फुटबल सकियो” भन्ने भ्रम सिर्जना गरेको उनको भनाइ छ।
तर बालेन शाहले मोफसलमा भने फुटबलको छुट्टै क्रेज रहेको बताएका छन्। मोफसलका गोल्डकप प्रतियोगितामा दैनिक हजारौँ दर्शक फुटबल हेर्न आउने र फाइनल खेलका लागि टिकटसमेत नपाइने अवस्था देखिनु यसकै प्रमाण भएको उनले उल्लेख गरेका छन्।
उनका अनुसार काठमाडौँमा सञ्चालन हुने लिगका अधिकांश खेलाडी मोफसलबाट उत्पादन भए पनि देशको मेरुदण्ड मानिने लिग संरचनामा मोफसलका क्लबहरूको उपस्थिति सीमित छ। पछिल्ला वर्षमा केही क्लब मात्र डिभिजन फुटबलमा प्रवेश गरे पनि केन्द्रिकृत फुटबल संरचनाले काठमाडौँ बाहिरका क्लबलाई टिक्न गाह्रो बनाइरहेको उनको भनाइ छ।
बालेन शाहले अब फुटबलको नीति नै परिवर्तन हुनुपर्नेमा जोड दिएका छन्। उनले फुटबललाई विकेन्द्रिकरण गर्दै व्यवसायिक बनाइनुपर्ने, काठमाडौँमा केही सीमित क्लबमा मात्र फुटबल सीमित नराखिनुपर्ने बताएका छन्। फुटबल खेल्न क्लब र खेलाडी काठमाडौँमै आउनुपर्ने बाध्यता अन्त्य हुनुपर्ने उनको धारणा छ।
उनले पूर्वमा झापा–११ क्लब उत्रँदा धनगढीका मैदान दर्शकले भरिनुपर्ने, पश्चिमको धनगढी रंगशालामा मछिन्द्र र थ्रीस्टार जस्ता काठमाडौँका क्लबका झण्डा फहरिनुपर्ने उदाहरण प्रस्तुत गर्दै देशभर फुटबल फैलिनुपर्ने बताए। साथै, फुटबलको अभावकै कारण कुनै पनि खेलाडी विदेशिन नपरोस् भन्ने उनको आग्रह छ।
प्रकाशित २०८२/१०/२४ ८:३३


