धादिङ । समाजसेवी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा धादिङ क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएकी आशिका तामाङले वैदेशिक रोजगारी नेपालीको बाध्यता भएको स्पष्ट पारेकी छन्।
फेसबुकमार्फत् सार्वजनिक धारणा राख्दै तामाङले हरेक नेपाली विदेश जानु रहरले नभई घरको चुलो बलोस्, आमाबुवाको औषधि नछुटोस् र छोराछोरीको भविष्य सुरक्षित रहोस् भन्ने बाध्यताले हुने बताएकी छन्। वैदेशिक रोजगारी सुखको खोजी नभई अन्तिम विकल्प भएको उनको भनाइ छ।
तामाङले आफू पनि नेपाल सरकारबाट श्रम स्वीकृति लिएर जर्मनी गएको स्मरण गर्दै विदेश जानु सजिलो नभएको उल्लेख गरेकी छन्। “ऋण, बिछोड, एक्लोपन र भाषा नबुझिने देशको संघर्ष भोग्नेले मात्र त्यो पीडा बुझ्छ,” उनले लेखेकी छन्।
आफ्नो विवाहलाई लिएर उठाइएका प्रश्नप्रति पनि स्पष्ट धारणा राख्दै तामाङले प्रेम, विवाह कुनै पार्टी वा पासपोर्टले तय नगर्ने बताएकी छन्। “मेरो विवाह विदेशमा भयो भन्दैमा म विदेशी कसरी भएँ?” भन्दै उनले आजसम्म नेपाली नागरिकता र पासपोर्ट नत्यागेको उल्लेख गरेकी छन्। विदेशमा बसेर पनि नेपाली पासपोर्ट नवीकरण गर्न भोग्नुपर्ने सास्तीप्रति उनले ध्यानाकर्षण गराएकी छन्।
उनले भावनात्मक प्रश्न उठाउँदै भनेकी छन्, “हामीले पठाएको रेमिटेन्स चल्ने, तर हामी नचल्ने? विदेशबाट केही सिकेर देशमै केही गर्छु भन्दा ‘विदेशी’ भनेर धकेलिनु कस्तो न्याय हो?”
आशिका तामाङका अनुसार यो विषय केवल व्यक्तिगत श्रम स्वीकृतिको होइन, लाखौँ वैदेशिक रोजगारीमा रहेका नेपालीको आत्मसम्मानसँग जोडिएको सवाल हो।
“विदेशबाट फर्किनेलाई शंका होइन, सम्मान चाहिन्छ। श्रम बेच्न बाध्य भएकालाई दोष होइन, अवसर चाहिन्छ,” उनले जोड दिएकी छन्।
उनले अन्त्यमा देश विदेशमा पसिना बगाउने सबै नेपालीको साझा भएको भन्दै, फर्केर देश बनाउन चाहनेलाई राज्यले सम्मान र अवसर दिनुपर्ने स्पष्ट धारणा व्यक्त गरेकी छन्।
प्रकाशित २०८२/१०/२४ १०:०७


