काठमाडौँ ।
प्रधानमन्त्री शुशिला कार्की ज्यूले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय तथा वरिष्ट कलाकार सुनील थापाज्यूको असामयिक निधन प्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।
एक शोक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले सुनील थापाको निधनले नेपाली मात्र नभई भारतीय चलचित्र जगतले समेत एक बहुआयामिक र सशक्त कलाकार गुमाएको उल्लेख गर्नु भएको छ। उहाँले चार दशक भन्दा बढी समयसम्म नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्री कार्कीले ‘चिनो’ चलचित्रका राते काइँला देखि ‘मेरी कोम’का प्रशिक्षक सम्मका भूमिकामा सुनील थापाले खलनायक तथा सहनायकका रूपमा दर्शकको मन जित्न सफल भएको उल्लेख गर्नु भएको छ। “उहाँले जीवन्त बनाएका पात्रहरू नेपाली दर्शकको स्मृतिमा सधैँ जीवित रहनेछन्,” शोक सन्देशमा भनिएको छ।
प्रधानमन्त्रीले सुनील थापाको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारहरूका लागि प्रेरणाको स्रोत रहने पनि उल्लेख गर्नुभएको छ।
यस दुःखद् घडीमा प्रधानमन्त्री शुशिला कार्की ज्यूले दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

प्रकाशित २०८२/१०/२४ ३:२०


