काठमाडौँ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई बिना सर्त तत्काल रिहा गर्न माग गरेको छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा शनिबार जारी विज्ञप्तिमा प्रसाईंलाई पटक–पटक पक्राउ गर्नु राज्यको प्रतिशोधपूर्ण कदम भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। पार्टीले फरक विचार र मान्यतालाई निरुत्साहित गर्ने तथा दबाउने नियतले प्रसाईंलाई दुःख दिइएको आरोप लगाएको छ।
विज्ञप्तिमा भनिएको छ, “राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित मात्र होइन, यसले नागरिकले स्वतन्त्र रूपमा हिँड्न, डुल्न, बोल्न, लेख्न र शान्तिपूर्ण विरोध गर्न पाउने संविधान प्रदत्त अधिकारसमेत कुण्ठित गरेको छ।”
प्रसाईंलाई शुक्रबार प्रहरीले काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो। उक्त घटनाप्रति आपत्ति जनाउँदै राप्रपाले उनलाई बिना सर्त अविलम्ब रिहा गर्न सरकारसँग माग गरेको छ।
पार्टीले संविधानले सुनिश्चित गरेका मौलिक हक र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न पनि सरकारलाई आग्रह गरेको छ।

प्रकाशित २०८२/१०/२४ ६:३९


