काठमाडौँ ।
निर्वाचन आयोगले २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आचारसंहिता सम्बन्धी विशेष सूचना जारी गर्दै निर्वाचनको समयमा पूर्ण रूपमा निषेध गरिएका कार्यहरूको सूची सार्वजनिक गरेको छ।
निवाचन आयोगले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न ६ वटा मुख्य कार्यहरूमा पूर्ण प्रतिबन्ध लगाएको छ:
१. प्रचारप्रसारमा कडाइ
निर्वाचन प्रचारप्रसारका लागि कुनै पनि प्रकारका पोस्टरहरू टाँस्न पाइने छैन। सार्वजनिक वा निजी भित्ताहरूमा पोस्टर टाँसेर सहर वा गाउँ कुरूप बनाउने कार्यलाई रोक लगाइएको छ।
२. मत खरिद-बिक्रीमा रोक
निर्वाचनमा आर्थिक चलखेल रोक्न आयोगले कडा कदम चालेको छ। मतदातालाई पैसा वा अन्य प्रलोभन देखाएर मत खरिद-बिक्री गर्न पूर्णतः निषेध गरिएको छ।
३. हातहतियार बोक्न निषेध
शान्ति सुरक्षालाई मध्यनजर गर्दै निर्वाचनको अवधिमा कुनै पनि प्रकारका हातहतियार लिएर हिँड्न पाइने छैन। यसको उल्लंघन गरेमा कानुनी कारबाही हुने आयोगले चेतावनी दिएको छ।
४. डर, धम्की र त्रास फैलाउन नपाइने
मतदातालाई आफ्नो विवेक प्रयोग गर्नबाट रोक्ने गरी कुनै पनि प्रकारको डर, धम्की वा त्रास दिन नहुने व्यवस्था आचारसंहितामा उल्लेख छ।
५. भोजभतेर गर्न प्रतिबन्ध
निर्वाचनको प्रभाव पार्ने उद्देश्यले गरिने कुनै पनि किसिमका भोजभतेर वा सामूहिक खानपिनका कार्यक्रमहरू गर्न पाइने छैन।
६. सामाजिक सञ्जालको मर्यादित प्रयोग
टिकटक, फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमार्फत कसैलाई होच्याउने, मिथ्या सूचना फैलाउने, दुष्प्रचार गर्ने वा घृणास्पद अभिव्यक्ति (Hate Speech) दिन पाइने छैन। प्रविधिको दुरुपयोग गरी निर्वाचन प्रभावित पार्न खोज्नेलाई कडा निगरानीमा राखिने आयोगले जनाएको छ।

प्रकाशित २०८२/१०/२५ ११:०१


