काठमाडौँ, २०८२ फागुन ०१
यहिँ फागुन ३ गते हुने महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने अत्यधिक भीडभाडलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष ट्राफिक व्यवस्थापन योजना सार्वजनिक गरेको छ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार पशुपतिनाथ मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि आउने भक्तजन, दर्शनार्थी र पर्यटकलाई सहज आवतजावतको वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाइएको हो। सोही अनुसार विभिन्न स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ।
पार्किङ व्यवस्था यसप्रकार रहेको छः
१. सिफल चौर — दर्शनार्थी, पासवाहक सवारी साधन तथा सुरक्षाकर्मीका सवारी साधन
२. गुहेश्वरी पारी — तीर्थयात्री तथा दर्शनार्थीका सवारी साधन
३. पशुपति विकास कोषको कार्यालय/भण्डारखाल — पासवाहक सवारी साधन
४. तिलगंगा आँखा अस्पताल र करिडोर — तीर्थयात्री, दर्शनार्थी तथा पर्यटकका सवारी साधन
५. वनकाली क्षेत्र — शिविर सञ्चालन गर्ने संघसंस्था, दमकल, एम्बुलेन्स, खानेपानी तथा सुरक्षाकर्मीका सवारी साधन
६. प्रहरी वृत्त गौशाला — पासवाहक तथा सरकारी सवारी साधन
ट्राफिक प्रहरीले विभिन्न नाकाबाट भित्रिने भक्तजनका सवारी साधनलाई छुट्टाछुट्टै स्थानमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ। टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवतजावतका साथै तोकिएका पार्किङ स्थल प्रयोग गर्न अनुरोध गरिएको छ।
दर्शनार्थीको चाप अत्यधिक भई गौशाला क्षेत्र हुँदै चक्रपथमा सवारी सञ्चालन गर्न नसकिने अवस्था आएमा मात्र गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग प्रयोग गराइने ट्राफिक प्रहरीले जनाएको छ। सो प्रयोजनका लागि करिडोर सडक तथा भित्री सडकहरूमा समेत पर्याप्त संख्यामा ट्राफिक प्रहरी खटाइनेछ।
सामान्य अवस्थामा चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा सवारी साधन निर्वाध रूपमा सञ्चालन गरिनेछ। तर, भक्तजनको भीड अत्यधिक भई सवारी आवागमनमा समस्या उत्पन्न भएमा आवश्यकता अनुसार डाइभर्सन गरी वैकल्पिक मार्गबाट सवारी सञ्चालन गरिनेछ।
त्यसैगरी तिनकुनेबाट सिनामंगलतर्फ, बौद्ध क्षेत्रबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनलाई अवस्था हेरी निषेध गरिने जनाइएको छ। बागमती करिडोर तथा जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी तोकिएको पार्किङ स्थल प्रयोग गर्नुपर्नेछ।
गौशाला चोकमा अत्यधिक भीडभाड भई सवारी सञ्चालन गर्न नसकिने अवस्था आएमा चाबहिल–गौशाला, पुरानो बानेश्वर–गौशाला, ज्ञानेश्वर–मैतिदेवी मोड हुँदै रातोपुल–गौशाला, तथा सिफल चौर–जय बागेश्वरीतर्फ चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गराइने ट्राफिक प्रहरीले जानकारी दिएको छ।
ट्राफिक प्रहरीले महाशिवरात्री पर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सर्वसाधारण, चालक तथा सवारी व्यवसायीलाई ट्राफिक नियम पालना गर्न र ट्राफिक प्रहरीको निर्देशन सहयोगपूर्वक पालना गर्न आग्रह गरेको छ।

प्रकाशित २०८२/११/०१ ५:५२ बेलुका


