आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोग ले जनाएको छ। आयोगका अनुसार हालसम्म एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ भइसकेको छ।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार छपाइ सकिएका जिल्लाका मतपत्रको प्याकिङ पनि सम्पन्न भइसकेको छ। हालसम्म १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ गरिएको छ भने दैनिक करिब एक हजार बाकस प्याकिङ र १३–१५ लाख मतपत्र छपाइ भइरहेको छ।
मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा गत पुस २२ गतेदेखि सुरु गरिएको हो। छपाइ भएका मतपत्रमध्ये कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा आजैदेखि ढुवानी सुरु गरिएको आयोगले जनाएको छ।

प्रकाशित २०८२/११/०१ ६:२४ बेलुका


