काठमाडौं,फागुन ०२
न्यूरोडबाट बानेश्वर तर्फ जाँदै गरेका एक ट्याक्सी चालक ठगीको शिकार भएका छन्। बा २ ज १५१४ नम्बरको हुन्डाई ट्याक्सी चलाइरहेका चालक राजु प्रसाद त्रिपाठीलाई अन्दाजी ५०–५५ वर्ष जस्तो देखिने एक व्यक्तिले कुरियरको सामान ल्याउनुपर्ने भन्दै ट्याक्सी चढेका थिए।
यात्रुले सुरुमा रु. १,००० दिने सहमति जनाएपछि ट्याक्सी चालक उनलाई बुद्धनगर पुर्याएका थिए। बुद्धनगर पुगेपछि यात्रुले तत्काल भाडा रु. १,००० ट्याक्सी चालकलाई दिएर भित्र गएका थिए। केही समयपछि बाहिर निस्कँदै “यहाँ सामान रहेनछ, अब बानेश्वर जानुपर्छ” भन्दै पुनः ट्याक्सीमा चढेका थिए।
बानेश्वरतर्फ जाँदै गर्दा यात्रुले आफू विदेशमा बस्दै आएको, अहिले मात्रै न्यूरोडमा आमा–बुबालाई भेट्न आएको र भोलि विदेशबाट पाउना आउने बताउँदै दिनभरि ट्याक्सी घुमाइदिन आग्रह गरेका थिए। सो क्रममा चालक र यात्रुबीच मोबाइल नम्बर समेत साटासाट भएको बताइएको छ।
पछि एभरेष्ट अस्पताल नजिक पुगेपछि यात्रुले आफ्नी श्रीमतीलाई फोन गर्दै “७–८ हजार रुपैयाँ पुगेन, म ट्याक्सीमा आउँदै छु, घर अगाडि पैसा ल्याइदिनु” भनेको चालकले सुनेका थिए। त्यसपछि कति रुपैयाँ नपुगेको हो भनेर चालकले सोध्दा यात्रुले ७–८ हजार रुपैयाँ चाहिएको बताएपछि चालकले “अहिले मसँग छ, घर पुगेपछि मलाई फिर्ता दिनु” भन्दै यात्रुलाई रु. ७,००० दिएका थिए।
तर बानेश्वर भित्र प्रवेश गरेपछि यात्रु अचानक बेपत्ता भएका थिए। धेरै पटक फोन सम्पर्क गर्दा शुरुमा कल लागेको भएपनि नउठाउने त्यसपछि फोन नम्बर अफ रहेको त्यसपछि करिब दुई घण्टासम्म चालकले सोही स्थानमा यात्रुलाई पर्खिए पनि नआएपछि आफू ठगिएको ठहर गर्दै चालक नेपाल प्रहरी समक्ष पुगेर जाहेरी दिएका छन्।
पीडित ट्याक्सी चालक राजु प्रसाद त्रिपाठी हाल काँडाघारी क्षेत्रमा बसोबास गर्दै आएका छन्। घटनापछि ट्याक्सी चालकहरूलाई यस्ता ठगीका घटनाबाट जोगिन विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। उक्त ठगेर बेपत्ता भएको व्यक्ति सिसि क्यामरा मा समेत कैद भएको उल्लेख गर्दै गोपनीयताको कदर गर्दै अहिलेलाई तस्बिर सार्वजनिक नगरिएको समेत चालकले उल्लेख गर्नु भएको छ ।
प्रकाशित २०८२/११/०२ १०:५७ बिहान


