काठमाडौं,०२ फागुन
बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज ले कुनै पनि विदेशी कम्पनीका मोबाइल एप्लिकेसनसँग सहमति, सहकार्य वा साझेदारी नगरेको स्पष्ट पारेको छ।
समाजले जारी गरेको सूचनामा पछिल्लो समय केही अज्ञात व्यक्तिहरूले समाजको नाम दुरुपयोग गर्दै सदस्यहरूलाई फोनमार्फत विदेशी एप्लिकेसनसँग जोडिन तथा प्रयोग गर्न उर्दी दिएको जानकारी प्राप्त भएको जनाइएको छ। यस्ता फोन कल समाजका आधिकारिक पदाधिकारी वा समाजका आधिकारिक सम्पर्क नम्बरबाट नगरिएको पनि समाजले स्पष्ट गरेको छ।
समाजले यस्ता भ्रामक गतिविधिबाट भ्रमित नहुन सम्पूर्ण सदस्यहरूलाई आग्रह गर्दै, समाजको छवि बिगार्ने उद्देश्यले फैलाइएका गलत सूचनाप्रति सजग रहन अनुरोध गरेको छ।
साथै, समाजका आधिकारिक गतिविधि, निर्णय वा कुनै पनि विषयमा अन्योल भएमा समाजका आधिकारिक सम्पर्क नम्बर मार्फत मात्र जानकारी लिन समेत आग्रह गरिएको छ। कुनै समस्या वा जिज्ञासा भएमा तपसिलमा उल्लेखित आधिकारिक नम्बर ०१-५३१२८०६ मा सम्पर्क गर्न समाजले अनुरोध गरेको छ।
बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजद्वारा जारी गरिएको उक्त सूचनाले सदस्यहरूलाई भ्रामक फोन र गलत सूचनाबाट सतर्क रहन आग्रह गरेको छ।

प्रकाशित २०८२/११/०२ ५:५२ बेलुका


