हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना परिणाममा केही उम्मेदवारहरूले आफ्नो मतसमेत नपाएको तथ्य सार्वजनिक भएको छ। विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका केही उम्मेदवारहरूको मत संख्या शून्य आएको निर्वाचन परिणाममा देखिएको हो।
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिएका सीता देवी साह, मात्रिका दास र कृष्ण कुमार साह को मत शून्य आएको छ। त्यस्तै रौतहट–४ बाट उम्मेदवार बनेकी कुसुम खातुन को पनि मत शून्य देखिएको छ।
यसैगरी धादिङ–१ बाट उम्मेदवार रहेका कृष्ण प्रसाद अधिकारी ले पनि कुनै मत प्राप्त गर्न सकेनन्। काठमाडौँ–१ का उम्मेदवार अर्जुन शाही र ललितपुर–१ का देवेन्द्र सिंह को मत पनि शून्य आएको मतगणनामा देखिएको छ।
त्यस्तै गुल्मी–१ बाट उम्मेदवारी दिएका प्रेम प्रसाद श्रेष्ठ र बिमला ज्ञवाली ले पनि मत प्राप्त गर्न सकेनन्। रुपन्देही–२ बाट उम्मेदवार रहेका विष्णु प्रसाद बस्याल, बिमला भट्टराई, बालकृष्ण ज्ञवाली, दिलीप कुमार सुनार र टिका बहादुर क्षेत्री को मत पनि शून्य आएको बताइएको छ।
मतगणना परिणाम अनुसार यी उम्मेदवारहरूले आफ्नो व्यक्तिगत मतसमेत नपाएको देखिएको छ। यसले उम्मेदवार स्वयं मतदानमा सहभागी भएनन् वा अन्य कारणले मत नआएको हुन सक्ने चर्चा भइरहेको छ। निर्वाचन परिणाम सार्वजनिक भएसँगै यो विषय सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा समेत चर्चाको विषय बनेको छ।
प्रकाशित २०८२/११/२७ बुधबार ८:२९ बिहान


