काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बनेका रबिन्द्र मिश्र ले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। उनले जिल्ला निर्वाचन कार्यालय, काठमाडौँमा खर्च विवरण पेश गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आयोगले तोकेबमोजिम बैंक खाता खोलेर कोष सङ्कलन गरेको र सबै खर्च सोही खाताबाट गरिएको बताएका छन्। उनले अघिल्ला चुनावहरूजस्तै यसपटक पनि आयोगले तोकेको खर्च सीमाभित्र रहेर खर्च गरेको उल्लेख गरेका छन्।
मिश्रले आफ्नो कुल चुनावी खर्च २३,९७,४०२ रुपैयाँ भएको विवरण आयोगमा बुझाएको जानकारी दिएका छन्। साथै बुझाइएको खर्च विवरण सार्वजनिक गरिएको समेत उनले बताएका छन्।
कोष सङ्कलनका क्रममा १०० रुपैयाँदेखि २ लाख रुपैयाँसम्म सहयोग गर्ने दाताहरू तथा विभिन्न तरिकाले साथ र समर्थन गर्ने सबैप्रति उनले आभार व्यक्त गरेका छन्। उनले “म विफल भए पनि नेपाल बनेको हेर्न चाहने हाम्रो सपना साकार होस्” भन्ने आशा व्यक्त गरेका छन्।
यस निर्वाचनमा काठमाडौँ–१ बाट उम्मेदवार रहेका मिश्र रज्नु दर्शना सँग पराजित भएका थिए। रञ्जु दर्शनाले रास्वपा बाट उम्मेदवारी दिएकी थिइन्।

प्रकाशित २०८२/११/२७ बुधबार ४:४४ दिउँसो


