साउदी अरबमा रहेको नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै साउदी अरबमा बसोबास तथा रोजगारीमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। राजदूतावासले साउदी अरबका आधिकारिक निकायबाट जारी हुने समाचार, निर्देशन तथा सूचनालाई आधार मानी सजग रहन सबैलाई अनुरोध गरेको हो।
राजदूतावासले जारी गरेको सूचनामा सामाजिक सञ्जालमा अपुष्ट तथा आधिकारिक रूपमा पुष्टि नभएका समाचार, सूचना, जानकारी, फोटो वा भिडियो पोस्ट नगर्न, सेयर नगर्न र नफैलाउन विशेष आग्रह गरिएको छ। यस्ता गतिविधिले अनावश्यक भ्रम तथा त्रास फैलाउन सक्ने भएकाले जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह गरिएको छ।
त्यस्तै, आधिकारिक सरकारी निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट आउने सूचनामात्र विश्वास गर्न र हल्ला तथा अफवाहको पछि नलाग्न पनि नेपाली नागरिकलाई अनुरोध गरिएको छ।
कुनै आपतकालीन अवस्था वा आवश्यक जानकारीका लागि साउदीस्थित नेपाली राजदूतावासको फोन नम्बर ०११–४६१११०८ मा सम्पर्क गर्न सकिने जानकारी समेत राजदूतावासले दिएको छ।
राजदूतावासले मध्यपूर्वको बदलिँदो अवस्थालाई ध्यानमा राख्दै सबै नेपाली नागरिकलाई संयमित र सुरक्षित रहन आग्रह गरेको छ।


प्रकाशित २०८२/११/२७ बुधबार ८:१९ बेलुका


