काठमाडौँ , फागुन ३०
युएईका महान्यायाधिवक्ता डा. हमद सैफ अल शम्सीको आदेशमा सामाजिक सञ्जालमा भ्रामक तथा बनावटी भिडियो सार्वजनिक गरेको आरोपमा विभिन्न देशका १० जना पक्राउ परेका छन्। उनीहरूलाई तत्काल सुनुवाइका लागि अदालतमा पेश गरिएको छ।
अन्तराष्ट्रिय संचार माध्यम अनुसार अनुसन्धानका क्रममा केहि व्यक्तिहरुले हवाई प्रतिरक्षा प्रणालीले आक्रमण रोकिरहेको वास्तविक भिडियो तथा जमिनमा खसेका प्रक्षेपास्त्र र भिडभाडका दृश्यहरू पोस्ट गरेका थिए। साथै कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरी युएईका प्रमुख स्थलहरूमा विस्फोट, आक्रमण र आगलागी भएको जस्तो देखिने नक्कली भिडियोसमेत बनाइ सामाजिक सञ्जालमा फैलाइएको पाइएको छ।
अधिकारीहरूका अनुसार पक्राउ पर्नेहरूमा इजिप्ट, फिलिपिन्स, भियतनाम, पाकिस्तान, इरान, बंगलादेश, क्यामरुन, नेपाल र भारतका नागरिक रहेका छन्। यस्ता सामग्रीले सार्वजनिक सुरक्षा प्रभावित गर्ने, त्रास फैलाउने तथा राष्ट्रिय सुरक्षामा असर पार्ने भएकाले कडा कारबाही गरिएको जनाइएको छ।
युएईको कानुन अनुसार यस्ता अपराधमा कम्तीमा एक वर्ष कैद र न्यूनतम १ लाख दिराम जरिवाना हुने व्यवस्था रहेको छ। अधिकारीहरूले डिजिटल प्लेटफर्मको दुरुपयोग गरी भ्रामक सूचना फैलाउने जो–कोहीलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।

प्रकाशित २०८२/११/३० सनिबार १२:१२ दिउँसो


