नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने भएको छ। बैठकमा प्रतिनिधिसभामा पार्टीले प्राप्त गरेको समानुपातिकतर्फका सांसदहरूको छनोट गर्ने मुख्य एजेन्डा रहेको बताइएको छ।
एमालेका सचिव महेश बस्नेतले आफ्नो सामाजिक सञ्जालमार्फत बैठक सम्बन्धी जानकारी सार्वजनिक गरेका हुन्। उनका अनुसार बैठकमा पार्टीका दिवंगत नेताहरूलाई श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम पनि तय गरिएको छ।
हालै ९७ वर्षको उमेरमा निधन भएका एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीप्रति पनि बैठकले श्रद्धाञ्जलि व्यक्त गर्नेछ। त्यसैगरी पार्टीका केन्द्रीय सदस्य खगेन्द्र राई र कृष्ण थापालगायत दिवंगत नेताप्रति पनि श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ सिट जितेको थियो। समानुपातिकतर्फ भने पार्टीले कुल १४ लाख ५५ हजार ८८५ मत प्राप्त गरेको निर्वाचन परिणाममा उल्लेख छ।
उक्त बैठकले समानुपातिक सांसदहरूको अन्तिम टुंगो लगाउने अपेक्षा गरिएको छ।
प्रकाशित २०८२/११/३० सनिबार ११:५५ बिहान


