काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डोलप्रसाद अर्यालले आफ्नो चुनावी अभियानमा भएको खर्च सार्वजनिक गरेका छन्। उनले निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार कुल १८ लाख ३० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
अर्याल उक्त क्षेत्रबाट अत्यधिक मतसहित विजयी भएका थिए। उनले पेश गरेको खर्च विवरण अनुसार चुनावी अभियानका विभिन्न शीर्षकमा खर्च गरिएको रकम यस प्रकार रहेको छ।
मनोनयन दर्ता शुल्कमा १० हजार रुपैयाँ, प्रचारप्रसार सामाग्रीमा ४० हजार रुपैयाँ, सवारी साधन तथा इन्धनमा ४ लाख ३० हजार रुपैयाँ, गोष्ठी तथा कार्यक्रम सञ्चालनमा ७० हजार रुपैयाँ खर्च गरिएको छ।
त्यस्तै, सम्पर्क कार्यालय सञ्चालनमा ४ लाख ७० हजार रुपैयाँ, विज्ञापनमा ७५ हजार रुपैयाँ, स्वयंसेवक परिचालनमा १ लाख ८० हजार रुपैयाँ, खाना तथा खाजामा २ लाख रुपैयाँ र विविध शीर्षकमा ५५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
निर्वाचन आयोगमा पेश गरिएको यही विवरणअनुसार उनले आफ्नो चुनावी अभियानको सम्पूर्ण खर्च सार्वजनिक गरेका हुन्।

प्रकाशित २०८२/११/२९ शुक्रबार २:१४ दिउँसो


