नेपाल शिक्षक महासंघ ले शिक्षक तथा शिक्षा पेशाप्रति लक्षित अपमानजनक अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै शिक्षक–कर्मचारीको पेशागत मर्यादा र सम्मानमा चोट पुग्ने खालका टिप्पणी अस्वीकार्य रहेको स्पष्ट पारेको छ।
महासंघका अनुसार देशमा विद्यालय शिक्षाको विकास तथा शिक्षक–कर्मचारीको हक, हित र मर्यादाको संरक्षणका लागि संगठन सधैँ प्रतिबद्ध रहँदै आएको छ। तर, फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचत एक जना माननीय सांसदले शिक्षक र शिक्षा पेशाप्रति अपमानजनक तथा अमर्यादित शब्द प्रयोग गरेको भन्दै महासंघले त्यसप्रति ध्यानाकर्षण भएको जनाएको हो।
विज्ञप्तिमा उल्लेख गरिए अनुसार सार्वजनिक पदमा बसेका व्यक्तिहरूले जिम्मेवार र मर्यादित अभिव्यक्ति दिनुपर्नेमा महासंघले जोड दिएको छ। शिक्षक समुदायको सम्मानमा आँच आउने खालका अभिव्यक्ति प्रति क्षमा माग्न र अब आईन्दा यस्ता विचार व्यक्त नगर्न सम्बन्धित पक्षलाई चेतावनीसमेत दिएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षक र शिक्षा पेशाको गरिमा कायम राख्न सबै पक्षलाई सचेत हुन पनि आग्रह गरिएको छ।

प्रकाशित २०८२/११/२९ शुक्रबार १२;१७ दिउँसो


