मकवानपुर । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि मकवानपुर जिल्लामा परीक्षा केन्द्रहरूको टुङ्गो लागेको छ। शिक्षा विकास तथा समन्वय एकाइ, मकवानपुरले जिल्लाभरका विद्यालयहरूलाई समेटेर २८ वटा परीक्षा केन्द्र निर्धारण गरेको हो।

शिक्षा विकास तथा समन्वय एकाइ, मकवानपुरले जिल्लाका नियमित र ग्रेडवृद्धि (पूरक) तर्फका परीक्षार्थीहरूका लागि यो व्यवस्था गरेको हो। यस वर्ष मकवानपुरबाट नियमिततर्फ ५,५२७ जना र ग्रेडवृद्धितर्फ १,६६५ जना गरी कुल ७,१९२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्।
एसईई परीक्षा २०८२ लाई व्यवस्थित बनाउन परीक्षा केन्द्रहरूको बाँडफाँट र विद्यालयहरूको ‘क्लस्टरिङ’ गरिएको हो। कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार विभिन्न विद्यालयका विद्यार्थीहरूलाई पायक पर्ने गरी २८ वटा केन्द्रमा विभाजन गरिएको छ।
यहीँ १९ चैत २०८२ बाट सञ्चालन हुने परीक्षाका लागि समन्वय एकाइले हालै यी केन्द्रहरूको अन्तिम नामावली र परीक्षार्थी संख्या सार्वजनिक गरेको हो।
हेटौँडा उपमहानगरपालिकासहित जिल्लाका सबै पालिकामा केन्द्रहरू तोकिएका छन्। बागमतीको जनता मावि, बकैयाको बुद्ध मावि र महेन्द्र मावि, भीमफेदीको महेन्द्र मावि, थाहा नगरपालिकाको जनकल्याण र मत्स्यनारायण मावि, मनहरीको राष्ट्रिय रोटरी मावि लगायतका विद्यालयहरूलाई परीक्षा केन्द्र कायम गरिएको छ।
परीक्षालाई मर्यादित, शान्त र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि भौगोलिक दूरी र विद्यार्थी संख्याको आधारमा केन्द्रहरू निर्धारण गरिएको हो। विशेष गरी प्राविधिक धारका विद्यार्थी र ग्रेडवृद्धिका परीक्षार्थीहरूका लागि छुट्टै र व्यवस्थित केन्द्रको व्यवस्था मिलाउन यो प्रक्रिया अपनाइएको हो।
कार्यालयले विद्यालयको कोड नम्बर र केन्द्रको क्षमता अनुसार विद्यार्थी संख्या बाँडफाँट गरेको छ। जस्तै: हेटौँडाको श्रमिक माविमा प्राविधिक धारका र २०८१ सालको ग्रेडवृद्धिका विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिएको छ। सबै केन्द्रहरूमा सुरक्षा र अनुगमनको प्रबन्ध मिलाइने एकाइले जनाएको छ।










प्रकाशित :- २०८२/१२/०६ शुक्रवार ४:४३ दिउँसो


