काठमाडौं । सङ्घीय संसद् सचिवालय ले प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम चैत १२ गते गर्ने तयारी गरेको छ।
सचिवालयले जारी गरेको सूचना अनुसार आगामी बिहीबार दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रमका लागि सबै नवनिर्वाचित सांसदहरूलाई उपस्थित हुन आग्रह गरिएको छ।
शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा सञ्चालन गरिने जनाइएको छ।
सूचनामा संविधान तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार तोकिएको प्रक्रिया बमोजिम शपथ ग्रहण कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। साथै, कार्यक्रममा सहभागी हुने सांसदहरूले आवश्यक कागजातसहित निर्धारित समयभन्दा अगावै उपस्थित हुनुपर्ने पनि सचिवालयले जनाएको छ।
यस्तै, नेपाली भाषा बाहेक अन्य मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले सम्बन्धित भाषा अनुवाद सहित पूर्व जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।

प्रकाशित २०८२/१२/०६ शुक्रबार ७:५० बिहान


