काठमाडौँ ।
नेपाली सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका र हालै सम्पन्न निर्वाचनमार्फत जनताको विश्वास जित्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका पूर्व सञ्चारकर्मीहरूलाई ईभा मिडिया र सञ्चार उद्यमी भबनाथ चौलागाईं ले विशेष बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
सञ्चार क्षेत्रका सहकर्मीहरूले देशको सर्वोच्च नीति निर्माण तह (सदन) मा पुग्न सफल हुनु गौरवको विषय रहेको उल्लेख गर्दै उहाँहरूले आफ्नो क्षेत्रमा जस्तै राजनीतिमा पनि निष्पक्षता र निर्भिकता देखाउने विश्वास व्यक्त गरिएको छ।
सहकर्मीहरूको सफलतामा खुसी र गौरव
न्युज २४ टेलिभिजनमा सहकार्य गर्नुभएका चर्चित सञ्चारकर्मीहरू रवि लामिछाने, दीपक बोहोरा, राजीव खत्री, प्रमोद न्यौपाने, उत्तम पौडेल, रिमा विश्वकर्मा तथा इमेज च्यानलका कुशल सञ्चारकर्मी जगदीश खरेल प्रतिनिधि सभामा निर्वाचित हुनुभएकोमा खुसी व्यक्त गर्दै चौलागाईंले उहाँहरूको राजनीतिक यात्राले सञ्चार क्षेत्रको मान बढाएको बताउनु भएको छ।
सदनमा निष्पक्ष र खरो भूमिकाको अपेक्षा
एक विशेष सन्देश जारी गर्दै भबनाथ चौलागाईंले भन्नुभएको छ— “तपाईँहरूले हिजोका दिनमा सञ्चार माध्यममा रहेर जसरी सत्यको पक्षमा आवाज उठाउनुभयो र निष्पक्ष ढंगले जनताका पीर-मर्कालाई उजागर गर्नुभयो, सदनमा पनि त्यसरी नै खरो र निर्भीक रूपमा प्रस्तुत हुनुहुनेछ भन्ने हाम्रो अटल विश्वास छ। जनताले तपाईँहरूबाट नयाँ र आशावादी राजनीतिको अपेक्षा गरेका छन्।”
सञ्चार क्षेत्रको ‘पीडा’ बुझ्ने आशा
पत्रकारितालाई राज्यको चौथो अङ्गका रूपमा परिभाषित गरिए पनि यो क्षेत्रले भोग्दै आएका समस्या, सुरक्षाका चुनौती र सञ्चारकर्मीका पीडाहरूका बारेमा नवनिर्वाचित सांसदहरू आफैँ जानकार रहेको कुरालाई शुभकामना सन्देशमा जोड दिइएको छ।
चौलागाईंले थप्नुभएको छ— “सञ्चारकर्मी र पत्रकारिता क्षेत्रले भोग्दै आएका बाधा-अड्चन र समस्याहरूलाई नीतिगत तहमै सम्बोधन गराई प्रेस स्वतन्त्रता र मर्यादित पत्रकारिताका लागि अनुकूल वातावरण बनाउन तपाईँहरूले ठूलो भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो आशा र विश्वास छ।”
’इभा मिडिया‘ परिवारले नवनिर्वाचित सम्पूर्ण सांसदहरूको कार्यकाल सफल र उहाँहरूको उपस्थितिले सदनमा आम नागरिकका आवाजले अझै प्राथमिकता पाउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित २०८२/११/२९ शुक्रबार ११:५३ बिहान


