काठमाडौँ । बागमती प्रदेश भित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनलाई सहज बनाउने उद्देश्यले सुरु गरिएको अनलाइन पटके सेवा अहिले लामो समयदेखि बन्द हुँदा चालक तथा व्यवसायीले ठूलो सास्ती भोग्नुपरेको गुनासो गरेका छन्।
बागमती प्रदेश सरकारको पहलमा २०८० साल चैत १३ गते बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले यातायात व्यवस्था सेवा कार्यालय भक्तपुर, सल्लाघारीमा विशेष कार्यक्रमका बीच उक्त सेवाको उद्घाटन गरेका थिए। आधुनिक प्रविधिको प्रयोगमार्फत चालक तथा व्यवसायीलाई जहाँसुकैबाट अस्थायी बाटो इजाजत (पटके) लिन सकिने व्यवस्था गरिएको भन्दै त्यसबेला यसलाई ठूलो उपलब्धिका रूपमा प्रचार गरिएको थियो।

सेवा सुरु भएपछि केही समयसम्म चालक तथा यातायात व्यवसायीले आफू जहाँ भए पनि मोबाइलमार्फत अनलाइन प्रणाली प्रयोग गरेर सजिलै पटके लिन सकेका थिए। यसले समय, श्रम र खर्च बचत गरेको भन्दै व्यवसायीले स्वागतसमेत गरेका थिए। तर पछि भने यो सेवा कहिले खुल्ने त कहिले बन्द हुने अवस्थामा पुग्यो।
विशेषगरी ‘जेन–जी आन्दोलन’ पछि भने उक्त अनलाइन प्रणाली पूर्ण रूपमा बन्द भएको छ। त्यसयता आजको मितिसम्म पनि सेवा पुनः सञ्चालन हुन नसक्दा सार्वजनिक सवारीका चालक तथा व्यवसायी मारमा परेका छन्।

अहिले पटके सेवा लिनका लागि चालकहरूलाई भौतिक रूपमा भक्तपुर सल्लाघारी र ढुङ्गेअड्डास्थित कार्यालयमै पुग्नुपर्ने बाध्यता रहेको छ। यसका कारण समय र पेट्रोल खर्च हुने गरेको चालकहरूको भनाइ छ।
यातायात व्यवसायी तथा स्वरोजगार चालकहरूका अनुसार सरकारले ठूलो तामझामका साथ सुरु गरेको अनलाइन सेवा केही समयमै निष्क्रिय बन्नु दुर्भाग्यपूर्ण भएको बताउँछन्। “सरकारले आशा देखायो, तर सेवा केही दिनको पाहुना जस्तै भयो,” एक चालकले गुनासो गर्दै भने।
व्यवसायीहरूका अनुसार अनलाइन सेवा बन्द हुँदा अनावश्यक आर्थिक बोझ , समयको बर्बादी र प्रशासनिक झन्झट बढेको छ। टाढा–टाढाबाट आउने चालकहरूलाई झन् बढी समस्या परेको उनीहरूको भनाइ छ।
यसैले सार्वजनिक सवारीसँग प्रत्यक्ष जोडिएका व्यवसायी तथा चालकहरूले सकेसम्म छिटो अनलाइन पटके सेवा सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। प्रविधिको प्रयोग गरेर सुरु गरिएको सेवा बन्द हुनुको कारण स्पष्ट पार्दै यथाशीघ्र पुनः सञ्चालन गर्न उनीहरूको आग्रह रहेको छ।
प्रकाशित २०८२/११/३० सनिबार १:०४ दिउँसो


