काठमाडौं । नेकपा (एमाले) ले समानुपातिकतर्फ प्रतिनिधिसभामा जाने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले क्लस्टर अनुसार समानुपातिक सांसदहरूको चयन गरेको हो।
निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार एमालेले समानुपातिकतर्फ कुल १४ लाख ५५ हजार ८८५ मत प्राप्त गर्दै १६ सिट हासिल गरेको थियो। सोही आधारमा पार्टीले समावेशी क्लस्टर अनुसार सांसदहरूको नाम चयन गरेको सचिव महेस बस्नेत ले आफ्नो फेसबुक मार्फत जानकारी दिएका हुन् ।
निर्णय अनुसार जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य चयन भएका छन्। खस–आर्य क्लस्टरबाट पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल, गुरु प्रसाद बराल र पुष्पराज कंडेल चयन भएका छन्।
त्यस्तै थारु क्लस्टरबाट कृपाराम राणा चयन भएका छन् भने दलित क्लस्टरबाट विष्णुमाया वी.के. र नीता घटानी चयन भएका छन्। मधेसी क्लस्टरबाट रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डल चयन हुँदा मुस्लिम क्लस्टरबाट साजिदा सिद्दीकी चयन भएकी छन्।
पार्टीले समानुपातिकतर्फ प्राप्त मतको आधारमा संविधानमा व्यवस्था गरिएको समावेशी सिद्धान्त अनुसार विभिन्न समुदायको प्रतिनिधित्व हुने गरी सांसद चयन गरिएको जनाएको छ।
प्रकाशित २०८२/११/३० सनिबार ५:०३ दिउँसो


