काठमाडौं, २८ फागुन २०८२ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन खटिएका देशभरका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) को आज एकसाथ बिदाइ गरिएको छ।
गत माघ २२ गतेदेखि ४० दिनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको सेवा अवधि आज फागुन २८ गते समाप्त भएसँगै सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूबाट औपचारिक रूपमा बिदाइ गरिएको हो।
निर्वाचनको अवधिभर मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानी, मतगणना स्थलको सुरक्षालगायत विभिन्न जिम्मेवारीमा उनीहरू खटिएका थिए। नेपाल प्रहरीका अनुसार निर्वाचन प्रहरीहरूले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन महत्वपूर्ण योगदान दिएका छन्।
प्रहरी प्रशासनले छोटो अवधिमा समेत अनुशासन, जिम्मेवारी र समर्पणका साथ काम गरेको भन्दै म्यादी प्रहरीहरूको प्रशंसा गरेको छ। सेवा अवधिको अन्त्यसँगै उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी घर फर्काइएको प्रहरीले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र निर्वाचन प्रहरी परिचालन गरिएको थियो। निर्वाचन प्रहरीको महत्वपूर्ण भूमिकाका कारण निर्वाचन प्रक्रिया सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न भएको सुरक्षा निकायले जनाएको छ।
प्रकाशित २०८२/११/२८ बिहिबार १:०१ दिउँसो


