[विशेष रिपोर्ट]
काठमाडौं, फागुन ५ | काठमाडौंको पानीपोखरी र लाजिम्पाट क्षेत्रमा २०८२ फागुन ४ गते साँझको दृश्य सधैँभन्दा फरक थियो। अति विशिष्ट व्यक्तिको (VVIP) सवारीका कारण सुरक्षाकर्मीको बाक्लो तैनाथी थियो। तर, त्यही सुरक्षाको नाममा एक स्वरोजगार ट्याक्सी चालकले भोग्नुपरेको अपमान र ‘बर्दीको दादागिरी’ ले प्रहरी प्रशासनको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ।
घटनाको नालीबेली: दुई ट्याक्सी, दुई व्यवहार
साँझको समय, दुईवटा ट्याक्सी सडक किनारमा रोकिएका थिए। VVIP सवारीको तयारी भइरहँदा त्यहाँ खटिएका एक डिएसपी (DSP) ले शिष्ट भाषामा भने— “सवारी हुँदैछ, यहाँ नरोकिदिनु होला।” दुवै चालकले गाडी स्टार्ट गरे।
तर, त्यही बेला दृश्यमा देखा परे काँधमा दुई तारा (सई/असई) भएका एक ट्राफिक प्रहरी। ती प्रहरीले पछाडि रोकिएको ट्याक्सीको कागजपत्र मागे र उसलाई सजिलै त्यहाँबाट जान दिए। तर, अगाडि बढिसकेको अर्को ट्याक्सी (जसमा पीडित चालक थिए) लाई भने उनले जबर्जस्ती रोके।
”तलाई १ दिनभित्र थुनाइदिन्छु”: प्रहरी कि न्यायाधीश?
अगाडि बढिसकेको गाडीलाई रोकेर ती ट्राफिक प्रहरीले कर्कश स्वरमा कागजपत्र मागे। चालकले “यसरी नधम्काउनुस्, म जान लागिसकेको छु” भन्दा प्रहरी झन् आक्रोशित बने। उनले स्टार्ट भइरहेको गाडीको चाबी थुते र धम्कीपूर्ण भाषामा भने— “तलाई १ दिनभित्र हिरासतमा हालिदिन्छु अनि थाहा पाउँछस्।”
यदि सवारीमा बाधा पुगेको थियो भने तत्काल हटाउनुपर्नेमा ती प्रहरीले चालकलाई करिब १५-२० मिनेट सडकमा रोकेर राखे। अन्ततः उनलाई महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा पुर्याइयो।
गम्भीर कानुनी र नैतिक प्रश्न:
यो घटनाले केही यस्ता प्रश्नहरू उब्जाएको छ जसको जवाफ राज्यले दिनुपर्छ:
- विभेदपूर्ण कारबाही: एउटै कसुरमा पछाडिको गाडीलाई छोडेर अगाडिको गाडीलाई मात्र तारो बनाउनुको अर्थ के? के ती प्रहरीको कुनै व्यक्तिगत रिसइबी थियो?
- हिरासतमा अमानवीय व्यवहार: सामान्य ट्राफिक विवादलाई लिएर एक नागरिकलाई २४ घण्टासम्म लागूऔषध कारोबार, बाल बलात्कार र ठगी जस्ता जघन्य अपराधका आरोपीहरूसँग एउटै हिरासतमा राख्नु कुन कानुनी नैतिकताभित्र पर्छ?
- सुरक्षा कि सास्ती?: सुरक्षा दिने प्रहरी नै जब आफैँ न्यायाधीश बनेर “तलाई हिरासत हाल्दिन्छु” भन्दै फैसला सुनाउन थाल्छन् भने आम नागरिकले कहाँ न्याय खोज्ने?
लगानीकर्ताको असुरक्षा र अबको सरकारको चुनौती
नेपालमा बसेर केही गर्छु भनेर सार्वजनिक यातायातमा लगानी गरेका व्यवसायी र चालकहरू आज बर्दीधारीको ‘इगो’ को सिकार भइरहेका छन्। २०८२ फागुन ४ को यो घटना एउटा प्रतिनिधि पात्र मात्र हो। के अब बन्ने सरकारले प्रहरीको यस्तो स्वेच्छाचारी र अमर्यादित व्यवहारमा लगाम लगाउन सक्ला? कि सुरक्षा दिने प्रहरी नै न्यायाधीश हुने यो दिन कहिल्यै नसकिने हो?
“हामी अपराधी होइनौँ, श्रम गरेर खाने नागरिक हौँ। एउटा ट्राफिक प्रहरीको व्यक्तिगत रिसका कारण जघन्य अपराधीहरूसँग हिरासतमा रात बिताउनु पर्दाको पीडा कसले बुझ्ने? के नेपालमा श्रम गर्नेको कुनै सम्मान छैन?” — पीडित चालक
प्रकाशित २०८२/१२/०८ आईतबार ४:११ दिउँसो


