काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिपछि सार्वजनिक सवारी साधनको भाडा पुनः बढाउन सरकारसँग माग गरेको छ। केही दिनअघि मात्रै बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको थियो। तर त्यसको केही दिनमै फेरि इन्धनको मूल्य बढेपछि महासंघले पुनः भाडा समायोजनको माग अघि सारेको हो।
महासंघका महासचिव भारत नेपालद्वारा हस्ताक्षरित शुक्रबार जारी प्रेस विज्ञप्तिमा पेट्रोलियम पदार्थको अस्वाभाविक र निरन्तर मूल्यवृद्धिले सर्वसाधारणको दैनिक जीवनदेखि देशको सार्वजनिक यातायात क्षेत्रमा गम्भीर असर परेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा २०८३ साल वैशाख २ गते रातिदेखि पुनः डिजेलको मूल्य बढाइएको भन्दै त्यसप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। पटक–पटक इन्धनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर यातायात व्यवसायी र उपभोक्तामा पर्ने भएकाले वैज्ञानिक तथा स्वचालित भाडा समायोजन प्रणाली लागू गर्नुपर्ने माग गरिएको छ।
महासंघले पेट्रोलियम पदार्थमा ५ प्रतिशत मूल्य थपघट हुँदा यातायात भाडा समायोजन गर्ने सहमति यातायात व्यवस्था विभाग, प्रदेश मन्त्रालय तथा यातायात महासंघहरूबीच पहिले नै भएको स्मरण गराएको छ। तर दुई पटकसम्म इन्धनमा भारी मूल्यवृद्धि हुँदा पनि सरकारले सहमति अनुसार भाडा समायोजन नगरेको आरोप लगाएको छ।
महासंघले अन्तरप्रदेश तथा प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक, मालवाहक, ट्याक्सी र पर्यटन सवारी साधनको भाडा तत्काल नयाँ दरअनुसार समायोजन गर्न माग गरेको छ।
महासंघका अनुसार २०८२ चैत २७ गते र २०८३ वैशाख २ गते गरी दुई चरणमा इन्धनको मूल्य वृद्धि हुँदा प्रतिलिटर ५५ रुपैयाँसम्म बढेको छ। नेपाल आयल निगमले पछिल्लो पटक डिजेलमा प्रतिलिटर ३० रुपैयाँ वृद्धि गरेपछि हाल डिजेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ।

प्रकाशित २०८३/०१/०४ शुक्रबार ५:२४ बेलुका


