बालेन सरकारको १०० शासकीय सुधार कार्यक्रम कार्यान्वयनतर्फ दबाब
काठमाडौं — यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा, दुर्व्यवहार, चोरी तथा अन्य आपराधिक घटनाहरू नियन्त्रण गर्न सबै सवारी साधनमा अनिवार्य रूपमा CCTV र Dashcam जडान गर्न पुनः ताकेता गरेको छ।
विभागले वैशाख २ गते विभिन्न यातायात व्यवसायी संघ–संस्थालाई पत्राचार गर्दै यस अघि मन्त्रिपरिषद्बारा स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गतको निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको हो।
पत्र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, साझा यातायात सहकारी संस्था लिमिटेड तथा नेपाल राष्ट्रिय ट्याक्सी तथा चालक सेवा समाजलाई पठाइएको विभागले जनाएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले स्वीकृत गरेको १०० शासकीय सुधार कार्यक्रमको बुँदा नम्बर ९८ मा सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा रोकथाम गर्न सबै सवारीसाधनमा CCTV/Dashcam जडान गर्ने, साथै राइड सेयरिङ एपहरूमा SOS Button अनिवार्य गर्ने व्यवस्था ३० दिनभित्र लागू गर्ने निर्णय गरिएको थियो।
विभागका अनुसार सो निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरोकारवालाबाट गुनासो आएपछि पुनः पत्राचार गरिएको हो। विभागले स्पष्ट रूपमा चेतावनी दिँदै उक्त सुरक्षा उपकरण जडान नगरिएका कारण महिला हिंसा, दुर्व्यवहार, चोरी वा अन्य दुर्घटना भएमा सम्बन्धित व्यवसायी, चालक तथा परिचालक नै जिम्मेवार हुने जनाएको छ।
यस कदमलाई सरकारले सार्वजनिक सेवा क्षेत्रमा प्रविधिमैत्री र उत्तरदायी शासन प्रणाली लागू गर्ने अभियानका रूपमा लिएको बताइएको छ। बालेन सरकारद्वारा अघि सारिएको १०० शासकीय सुधार कार्यक्रमअन्तर्गत यातायात, शिक्षा, स्वास्थ्य, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण र डिजिटल प्रशासनलाई प्राथमिकता दिइएको छ।
विशेषगरी सार्वजनिक यातायात क्षेत्रमा यात्रुको सुरक्षा, महिला मैत्री यात्रा वातावरण, डिजिटल निगरानी प्रणाली तथा आकस्मिक अवस्थामा तत्काल प्रहरीलाई सूचना पुग्ने व्यवस्था लागू गर्न सरकार सक्रिय देखिएको छ।
यातायात क्षेत्रका व्यवसायीहरूले भने उपकरण जडानका लागि स्पष्ट मापदण्ड, समयसीमा र सहजीकरण आवश्यक रहेको बताएका छन्। यदि निर्णय प्रभावकारी रूपमा लागू भए सार्वजनिक यातायात सेवा थप सुरक्षित, विश्वसनीय र प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित २०८३/०१/०४ शुक्रबार ८:३४ बिहान


