पोखरा महानगरपालिका क्षेत्रमा पठाओ तथा इनड्राइभमा आबद्ध रही वा नरही अफलाइन रूपमा मोटरसाइकल सञ्चालन गरी यात्रुहरूसँग तोकिएको भन्दा बढी भाडा असुल्ने, ठगी गर्ने तथा अनावश्यक दुःख हैरानी दिएको भन्ने व्यापक गुनासो आएपछि प्रहरीले १३ जना चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले हिजो वैशाख ३ गते पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो।
प्रहरीले पछिल्लो समय अफलाइन रूपमा यात्रु खोज्दै मनपरी भाडा असुल्ने, यात्रुलाई हैरानी दिने तथा नियमविपरीत सेवा सञ्चालन गर्ने गतिविधि बढेपछि निगरानी कडा पारिएको जनाएको छ। साथै यात्रुहरूलाई आधिकारिक अनलाइन प्रणालीमार्फत मात्र सेवा लिन र कुनै समस्या परे तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।
गण्डकी प्रदेश सरकारले यसअघि नै राइड सेयरिङ सेवा व्यवस्थापन तथा सञ्चालनसम्बन्धी नियमावली जारी गर्दै अनधिकृत तथा अफलाइन रूपमा सेवा सञ्चालन गर्ने चालकलाई कारबाही गर्ने व्यवस्था गरेको छ। नियमावलीअनुसार अनलाइन प्रणालीमा आबद्ध भई विवरण दर्ता नगरी यात्रु बोक्ने, तोकिएको मापदण्ड पालना नगर्ने तथा भाडामा मनोमानी गर्ने चालकलाई जरिवाना, सेवा निलम्बन वा सवारी नियन्त्रणमा लिन सकिने कानुनी व्यवस्था रहेको छ।

प्रकाशित २०८३/०१/०४ शुक्रबार २:५८ दिउँसो


