काठमाडौं । आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औँसीको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह ज्यू ले सम्पूर्ण आमाहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री शाहले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने बताउनु भएको हो।
उहाँले संस्कृत श्लोक “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” उद्धृत गर्दै माता र मातृभूमिको महत्त्व स्मरण गराउनु भएको छ। साथै, आमाको काख न्यानो र चरण तीर्थजस्तै पवित्र रहेको उल्लेख गर्नु भएको छ।
प्रधानमन्त्री शाहले मातातीर्थ औँसीको पावन अवसरमा माया, त्याग र सृष्टिको मुहान बनेर रहने सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दै आमाहरूको दीर्घायुको कामना गर्नु भएको छ।
उहाँले जीवनको पहिलो गुरु आमा भएको उल्लेख गर्दै सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्नु भएको छ।
सन्देशको अन्त्यमा प्रधानमन्त्री शाहले “हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु” भन्दै देश समृद्ध र सुखी बनेको हेर्ने आफ्नो चाहना व्यक्त गर्नुभएको छ।
यस्तो छ प्रधानमन्त्री को शुभकामना सन्देश
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।
माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।
हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।
प्रकाशित २०८३/०१/०४ शुक्रबार ९:४५ बिहान


